बाजुराको रुगिनमा स्वास्थ्य शिबिर राख्न हिडीएको, मुख्य यात्रा त अब सुरु भयो । सुन्दर मार्तडीबाट अब कोल्टी तिर प्रस्थान गर्दै थियौ । तर कति दिन लाग्छ भन्ने कुरामा हामी कोहि पनि बिस्वस्त थिएनौं । स्थानीयहरु कोहि ६ घण्टा भन्दै थिए, कोहि २ दिन भन्दा चाडो पुगिन्न भन्ने दाबी गर्दै थिए । जानु अघिल्लो रात को पानीले बाटोमा हिउँ परेको हुन सक्ने आंकडा पनि लगाइदै थियो । ‘Ignorance is a bliss.- अनभिज्ञता पनि बरदान हो भन्या जस्तो हामी पनि जे पर्ला देखा जायेगा भनेर हिंड्यौं. पट्यारलाग्दो ओरालो, थकाई लाग्ने उकालो तेस्तै त हो पहाडको बाटो । बाटोमा खच्च्ड़का बथान भेटिन्थे । पहिले त खच्चड देखि हामी तर्सिने अनि सायद हामी देखि खच्चड तर बिस्तारै बुझ्दै थियौं कति सोझो प्राणी रैछ त्यो । जति भारी बोकाए पनि चुपचाप हिंडीरहने, न आफ्नो अधिकार खोज्छ, न केहि सुविधाको माग । यस्तो लाग्यो, सुदुर्पस्चिमका निमुखा जनताहरु पनि एकप्रकारले यिनै प्राणीहरु जस्तै भएका थिए । जति दुख भए पनि चुपचाप सहेर बस्ने ।
यसरी लौरोको भर, खच्चड संग दोस्ती गरेर हिंड्दा हिंड्दै बाटामा कपासको थुप्रो जस्तो देखिने हिउँ देखा पर्न थाले । हेर्दा हेर्दै पुरै पहाड नै सेताम्मे भयो । हिउँले ढाकेको जंगल र उकालो बाटो अब रमाइलो पनि । हिमाल नै हिमालको देश, बिदेशी हरु तेही हिमाल हेर्न आउँछन् । तर पनि हिउँ छुन पायो भने दंग पर्ने नेपालीहरुको बानी । साथीहरु सबै दङ्ग हिउ देखेर, र फोटो पनि खिच्न थालियो । यत्तिका हिउँ त अन्नपुर्ण बेस क्याम्पमा पनि थिएन । झन्डै रसिया बिर्साउने, डेढ दुइ फिट बाक्लो हिउँ थियो, हामीले सोचेका पनि थिएनौ । बेला बेलामा भारी बोकेर हिंडिरहेका भरियाहरु पनि देखिन्थे । न जिउमा गतिलो लुगा छ, न त गतिलो जुत्ता । तर पनि, आफु भन्दा गह्रौं भारी बोकेर फट्टा फट हिंडिरहेका थिए । गरीबलाई न जाडो हुँदो रैछ न त गर्हुँगो, शायद भोक नि कमै लाग्दो हो । के गर्नु! येस्तै कुरा हरु सोच्दै प्रकृतिको आनन्द लिंदै, हिंड्दा हिंड्दा ७/८ घन्टा बितिसकेछ । तर पनि बाटो सकिने हैन । अब त चिन्ता पर्न थाल्यो किनकी साँझ पनि पर्न लाग्यो । भरियाहरुलाई सोध्दा थाहा भयो, १ घण्टा जति पर पान्डुसेन भन्ने गाउँ रहेछ, सायद त्यही बास पायिएला । अब बिस्तारै बल्ल ओरालो बाटो आयो, तर हिउँले चिप्लो भएर हिंडनै गार्हो । यहाँ चिप्लिएर लड्यो भने कतिवोटा फ्र्याक्चर हुन्छ यहि सोच्दै, पुरै लौरो कै भरमा हिंडियो । बल्ल गाउँ देखा पर्यो, अनि सास आयो । एउटा सानो घर हो वा होटेल, बास बस्ने ठाउँ भेटयौं । अब अगेना अगाडी बस्न थालेपछि मात्र थकाई लागेको थाहा भयो । घुडाबाट तल सबै हिउँ र पानीले भिजेका थियौं, कपडाको भारी बाटोमै होला, त्यहीं अँगेनामा जुत्ता मोजा र कपडा सुकायौं । अब येत्तिकै सुत्नुपर्छ, के गर्नु । उसिना चामलको भात, जत्ति चपाए नि न निलिने, अनि मुला आलुको तरकारी, सिमिको तिउन चाहिं मिठै थियो । जस्तो भए नि भोलि हिंड्नलाई तागत चाही हाल्यो । थकाई लागेर दुखेको जिउ, भुसुक्कै भईएछ, न सजिलो खाट न त न्यानो ओछ्यान तै पनि निन्द्रा लाग्दो रैछ । यसरी खच्चडको बथानको साथ, लड्दै पड्दै आएको हिउँ, खाना पकाउने अगेनामै जुत्ता सुकाएको, उसिना चामलको भात खाएको यही थियो पान्डुसेन सम्मको यात्राको सम्झना ।
१ दिनमा पुगिन्छ भनेको कोल्टी आज दोस्रो दिन हिंड्दै थियौं । तेही उकालो ओरालो बाहेक यो यात्रा खास रहेन । बरु कोल्टी पुगेपछि चाहिं आधी बाटो मात्र कटेको भए पनि निकै खुशी लाग्यो, नेपालगंज बाट काठमाडौँ आए जस्तो । बाजुराको बिमानस्थल रहेको कोल्टी, नेपालगंज र सुर्खेत जस्ता सहर को सम्पर्कमा रहेर होला, निकै चहल पहल र बिकसित देखिन्थ्यो । यहाँ बिजुली पनि रैछ र बस्न लाई गतिलो होटेल । खाना पनि बल्ल अलि राम्रो खान पाईयो । ताजा दुध र लोकल कुखुराको मासु. बल्ल तागत आए जस्तो भयो । खाना खाए पछि, थकाई र आधा पेट भएर न्याउरो भएको हाम्रा अनुहारहरुमा बल्ल चमक आउन थाले । मैले महसुस गर्दै थिए, सधै गरिबीको चपेटामा रहेका हाम्रा झन्डै ५० प्रतिशत जनता जसले दिनमा २ छाक भात पनि मुस्किलले खाना पाउँछन्, कस्तो महसुस गर्दा रैचन । उनीहरू दुध मासु जस्ता पोसिला खाना त बिरलै पाउंछन् । अनि किन निन्यौरा नदेखिउन ।
डरलाग्दो कर्णाली यात्रा
कोल्टीमा बिश्राम, राम्रो भोजन र अरामदायी सुताई पछि हामी फूर्तिका साथ रुगिन जान तयार भयौं । तेही लौरो, तेही उकालो ओरालो, पत्थरे बाटो, कर्णालीको गडगडाहट, पारी मुगु वारी बाजुरा, त्यो दृश्य साँची नै सुन्दर थियो । आँखा क्यामेरा भए नझिम्काई खिची राख्थें जस्तो लाग्थ्यो, सधैँ यसरी नै हिंडी रहुँ जस्तो । अब हिंड्दा हिंड्दा खुट्टाहरु थाक्न पनि छोडी सकेका थिए, एउटा तालमा हिंडी रहेका थियौं । चिया
नास्ता गर्न सानातिना झुपडीमा पसिन्थ्यो, चाउचाउ वा कोदोको रोटी, वा कोहि खाना पकाइदिन माने भने भात खान पाइएला । हामी जहाँ बस्थ्यौं शायद मौसमले गर्दा काला भएका, दुब्ला अनुहार र कौतुहल भरिएका आँखाहरुले हामीलाई घेरी हाल्थे । हामी रुगीनमा स्वास्थ्य शिबिर चलाउन आएको भने पछि त झन, कोहि आफ्नो स्वास्थ्य सम्बन्धि गुनासाहरु सुनाईहाल्थे भने कोहि केहि आर्थिक सहयोग पाइन्छ कि भन्ने आसले आफ्ना समस्याहरु पनि बयान गर्थे । न राम्रो स्वस्थ, न त शिक्षाको पहुँच, न गतिलो खाना नै खान पाउनु, न त सरसफाई सम्बन्धि ज्ञान । यस्तो लाग्थ्यो यो मानब समाज नै हैन । मानब सभ्यताका कुनै पनि लक्षण देखिन्थेन यो ठाउँमा । तर पनि यी सबै बाट अनभिज्ञ यी सोझा जनताहरु हँसिला देखिन्थे, र हाम्रो क्यामेरामा खिचिनका लागि इस्माइल दिरहेका थिए । यहि दुंगा, चट्टाने पहाड, यसैलाई आफ्नो जिन्दगि मानेका उनीहरुलाई आफु कति कुराबाट बन्चित छौँ भन्ने कुराको भान पनि हुन्थेन शायद । साँची नै कस्टकर लाग्यो यहाको जीबन । पहाड पनि पुरै चट्टान नै चट्टानको, खेती योग्य जमिन त तेही कर्णाली वारी पारीको खेत देखिन्थ्यो, नत्र पुरै बंजर, न धेरै गाईबस्तु नै देखिन्थे धेरै । “कर्णाली पारी, छैन खेतबारी, रुखो छ टाडी, झम ताडा झम झम” भन्ने गीत खुब मन परेथ्यो त्यो बेला बाजुराको यो कस्टकर जीवनलाई नियाल्दै हिंडीरहंदा ।यो तेस्रो दिन पनि यौटा सानो गाउँ को झुपडीमा बास बसियो । तेही रातो, निलिनै गार्हो उसिना जस्तो चामलको भात खाएर स्लीपिंग ब्याग भित्र सुतियो, खुट्टा नि तन्काउन नमिल्ने कुच्रुक्क परेको कोठामा ।
अब आज चौथो दिन, शायद हाम्रो यात्राको अन्तिम दिन, जे जति ताकत बटुलेर बिहानै सुरु गर्यौं, कुखुरा बासे संगै । बाटो अलि गार्हो भएको संकेत त पाएका थियौं । बाटो झन झन अप्ठ्यारो हुँदै गइरहेथ्यो । पहाड जख्रक्क परेको , रक क्लैम्बिंग गर्ने जस्तो थियो, समत्नलाई बोट बिरुवा समेत हुन्थेन कतै कतै, कुनै ठाउँमा त बाटो नै थिएन, घस्रेर, भित्ता समातेर हिंडनु पर्ने, यसो हात वा खुट्टा चिप्ले सिधा ४/५ सय फीट तल कर्णालीमै सुइसाइड हुने । मलाई त त्यो caravan भन्ने फिलिममा तेस्तै भिर बाट याक खसेको दृश्य आँखा अगाडी आइ रहेथ्यो । हाम्रो त अब खुट्टा नि काँप्न थाले । येस्तो बेला त खुट्टाले नि साथ छोड्ने रैछ यार, बिना भन्दै थिई । १ घन्टाको यो कस्टकर यात्रा पछि बल्ल फराकिलो बाटो आयो, अनि हाम्रो सास पनि ।
हामीलाई आफुलाई सम्हालिन गार्हो थियो तर भरियाहरु, काँधमा ते
त्रो गह्रौ भारी बोकेर नि हिंडिरहेका थिए । हरे शिब, कस्टकर जीवन को पराकास्ठा थियो त्यो । यो २१औं सताब्दीमा पनि जीवन यसरी बाँच्नु पर्ने बाध्यता । कति सुनाऔं, जति सुनाए पनि कमै हुन्छ । हाम्रो लागि त दुइ दिन को यात्रा मात्र थियो यो । तर यहाँका जनताको लागि, सधै यसरी नै बाँच्नुपर्ने बाध्यता। थाकेर शिथिल भएको शरीर, मृत्युको मुखबाटै उम्केर आएको जस्तो त्रास, हामी कोहि पनि बोल्न सक्ने स्थतिमा थिएनौं । निलो कर्णाली गडगडाउँदै बगिरहेथ्यो. पारी मुगु, अब बिस्तारै हुम्ला पनि देखियो । प्राकृतिक रुपमा निकै सुन्दर, तर अब दंग पर्ने मन पनि थिएन । हुम्ला मुगु र बाजुराको साँध, अनि उपल्लो डांडामा रुगिन गाउँ देखा पर्यो । हामी मध्ये कसै कसैका आँखा रसाउन थाले, बाल बच्चा परिवार भएका साथीहरु थिए, सायद तेसैले भावुक बनेका ।
अन्त्यमा रुगिन आइपुग्यौं। क्याम्पमा अरु साथी आइपुगी सकेका थिये । बल्ल अलि आनन्द भयो । रुगीनमा १ हप्ताको स्वास्थ्य शिबिर चलायौं । बाजुरा लगायत हुम्ला मुगुका बिरामीहरु पनि आए । त्यहाँका जनताहरु धेरै खुशी भएका थिए । कतिले त डाक्टर कहिले देखेकै थिएनन्, कस्तो हुन्छ डाक्टर भनेर हेर्न आउनेहरु पर्नी थिए धेरै । यी डाक्टर त हाम्रै नाती नातिना जस्तै हुँदा रैछन भनेर दंग पर्थे। बिस्तारै, त्यो सुदुर्पस्चिमेली भाषा पनि बुझिदै थियो . “लादो दुख्दो , राँगन लाग्दो , हपी त्येस्तै त्यस्तै बोलिहरू मिठो लाग्थ्यो, र जाने बेला मिठो आसिश नि दिएर जान्थे “ तमिकन भलो होई जाउ,” “तमि लाख लाख बर्ष जिया” हामी खुशीले गद्गद् हुन्थ्यौं । तेती टाढाबाट आएको सार्थक भयो । र अन्तिम दिन स्कुलका बिध्यार्थीहरुले नाच गान गरे, देउडा भाकामा आफ्ना दुख पिडाहरू भरेको गीत गाए र नाचे, नचाए. यो केहि दिनको बाजुरा बसाइमा, हामी साँच्चै एउटा आम नेपालीको जीबन बाँचेका थियौं । भन्छन नि सुखमा भन्दा दुखमा गाँसेको नाता गाढा हुन्छ । शायद ठिकै भनेछन । मैले नेपालको मुटु बल्ल बुझेको थिएँ । नेपाल सँग प्रेम बसेको थियो, कहिले नमेटिने प्रेम र एउटा अठोट पनि गरेको थिएँ , नेपालको लागि केहि गर्ने, आफु सक्षम हुनलाई जहाँ पुगे पनि, पछि फर्केर आउने आफ्नै देशमा । यो सबै घटनाक्रमले मेरो मनमा अमिट छाप छोडेर गयो । अहिले म धेरै टाढा छु, बाजुरा बाट, नेपाल बाट, तर मन सधै त्यहीं रहन्छ चाँडो आफ्नो लक्ष्यमा पुगेर नेपाल फर्कने आतुरी रही रहन्छ सधै । नेपालको माया लागि रहन्छ ।